एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २३ : त्रेतायुगमा राजा जनकले हलो जोत्दा माटोबाट उत्पन्न भएको मानिएको सीताको जन्मदिनको अवसरमा मंगलबार जनकपुरमा जानकी नवमी धुमधामसँग मनाइँदैछ । जनकपुरको जानकी मन्दिरमा जानकी नवमीको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरिएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार जानकी नवमीको प्रमुख कार्यक्रम मंगलबार दिनभर जानकी मन्दिरमा आयोजना हुनेछ ।‘जानकी नवमीको सबै तयारी पूरा भइसकेको छ,’ उनले भने,‘दिनभर मंगलधुनसँगै विशेष आरती, झाँकी र धार्मिक कार्यक्रम भइरहनेछ ।’ जानकी नवमीमा सहभागी हुन स्वामी रामभद्राचार्य भारतबाट सोमबार नै जनकपुर आइपुगेका छन् ।नमो राधवाय बसबाट जनकपुर आएका स्वामी रामभद्राचार्यसँग दर्जनौं भारतीय साधु–सन्त सहभागी छन् । जानकी नवमीको अवसरमा मंगलबार मधेश प्रदेश सरकारले मधेशमा सार्वजनिक बिदा दिएको छ । जानकी मन्दिरका महन्त र अन्य साधु–सन्त जानकी नवमीमा देशभर बिदा दिनुपर्ने माग गर्दै आएको थिए ।


