एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २१ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नगर प्रमुख सुकदेव यादवको एकलौटी र मनपरी शैलीविरुद्ध उपप्रमुख रचना श्रेष्ठ माथेमा र वडाध्यक्षहरूले पत्रकार सम्मेलन गरी गम्भीर असन्तुष्टि जनाएका छन् । उनीहरुले नगरप्रमुख यादव ऐन कानुन सबै मुठ्ठिमा लिएर एकलौटी कार्यालय माथी कब्जा जमाएको आरोप लगाएका छन् ।
नगर उपप्रमुख न्यायिक समितिको प्रमुख भएपनि कर्मचारी नदिएर निरिह पारेको, प्रमुख प्रशासकिय अधिकृतले पनि नगर उपप्रमुख संग कुनै समन्वय नगरेको आरोप उनीहरुको छ । उनीहरूले नगरप्रमुखले वडास्तरीय भेला नगरी उपभोक्ता समिति गठन गरेको, प्राविधिक बिना योजना अघि बढाएको, लोकसेवाबाट आएका कर्मचारीलाई हाजिर हुन नदिएको, न्यायिक समितिलाई काम विहिन बनाएको, र तीन वर्षे कार्यकालमा जनताले विकास अनुभूत नगरेको आरोप लगाएका छन् ।
नगर प्रमुखले ४ सयजना कर्मचारी नियुक्त गर्न खोजेको तर आवश्यक प्राविधिक भर्ना नगरेको भन्दै आपत्ति जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले नगरप्रमुखको ईशारामा काम गरेको भन्दै उनीहरूको सरुवा माग समेत गरिएको छ ।
आर्थिक वर्षको दश महिना वित्न लाग्दा समेत वडाहरुमा कार्यालय सञ्चालनको खर्चहरु नपठाएर निश्क्रिय पार्न चाहेका भन्दै उनीहरु प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री, समान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालय र कोलेनिकामा समेत बोर्धाथ पत्र पठाएको छ ।
निवर्तमान नगरप्रमुख योगेन्द्र पञ्जियारले समेत वर्तमान नेतृत्वमा स्वास्थ्य र शिक्षाको अवस्था कमजोर भएको, स्थापित अस्पताललाई कमजोर बनाउन खोजिएको आरोप लगाए। चालु आर्थिक वर्षमा करिब २२ करोड बराबरका २ सय योजना विनियोजन गरिएको जानकारी उपप्रमुखले दिइन्।


