एसपी रिपोर्टर
भक्तपुर, बैशाख २१ : राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ। बिहान ८:०० बजे सुरु भएको परीक्षा ११:०० बजेसम्म सञ्चालन हुनेछ। आगामी जेठ २ गतेसम्म चल्ने यस परीक्षाका लागि देशभर १,५९० तथा जापानमा १ गरी कुल १,५९१ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १६२ रहेका छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र तोकिएको छ।परीक्षाका लागि त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष, करिब २ हजार कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी तथा २० हजार सुरक्षाकर्मी खटाइएको छ।परीक्षामा देशभरका ५,२०२ विद्यालयबाट नियमिततर्फ १,९८,८७५ छात्र र १,९७,०१३ छात्रा गरी ३,९५,८८८ तथा आंशिकतर्फ १,१५,६१७ परीक्षार्थी सहभागी हुँदैछन्। कुल परीक्षार्थी संख्या ५,११,५२५ पुगेको बोर्डले जनाएको छ।विशेष आवश्यकता भएका परीक्षार्थीका लागि पनि आवश्यक व्यवस्था गरिएको छ। जसमध्ये कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अन्य अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष सुविधा उपलब्ध गराइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए।यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका विद्यार्थीहरूलाई पनि परीक्षा दिन व्यवस्था गरिएको छ। परीक्षा नियन्त्रण समिति वा परीक्षा नियन्त्रकको पूर्वअनुमति बिना कुनै व्यक्तिलाई परीक्षा केन्द्र प्रवेश गर्न दिइने छैन।परीक्षाको मर्यादा पालना नभएको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षकलाई तत्काल परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ।परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन लैजान अनुमति छैन। परीक्षार्थीलाई मोबाइल फोन, स्मार्ट घडी, लोडेड डकुमेन्ट भएका क्याल्कुलेटरबाहेक अन्य विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन  भएको बोर्डले जनाएको छ।