एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २० :
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौं, र पराजित गर्छौं ।’ उनले पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्वराजा नागरिक हुन् । यदि उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन,’ पोखरेलले भने ।
पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यको सन्दर्भमा व्यंग्यात्मक शैलीमा भने, ‘कांग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियमजस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौं । तर, प्रतिस्पर्धा बिर्सिन्नौं ।’ उनले सहकार्य र प्रतिस्पर्धा दुबैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताए ।
पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको दाबी गरे । ‘पञ्चायतमा २५ हजार किलोमिटर सडक थियो । अहिले १ लाख १० हजार किलोमिटर पुग्यो । शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ । जनतालाई तथ्यका आधारमा बुझाउनु अहिलेको प्रमुख कार्य हो,’ पोखरेलले भने ।
कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रजातन्त्र तथा गणतन्त्रको अवधिमा नेपालको समग्र विकासमा ठूलो फडको मारेको दावी गरे । उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा गरिबी निवारणमा ठूलो परिवर्तन भएको दाबी गरे । यस अवधिमा एमाले नेतृत्वको सरकारले ठूलो भूमिका निर्वाह गरेको दावी गरे । आउने निर्वाचनमा एमाले एक्लैले सरकार बनाउने गरी तयारी गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले मधेश प्रदेशको समृद्धि र विकासका लागि सुनकोशी–कमला डाईभसर्नको निर्माण तथा चुरेको संरक्षणका विषयमा प्रधानमन्त्रीलाई भेटेर हालै मागपत्र प्रस्तुत गरेको बताए ।
पार्टीका जिल्ला इन्चार्ज एवं पोलिटब्युरो सदस्य जुली कुमारी महतोले मधेश प्रदेशको शिक्षा, स्वास्थ्य कृषि सहितका क्षेत्रका विकासका लागि नेकपा एमालेले अगुवाइ गर्नुपर्ने धारणा राखिन । उनले अहिले कांग्रेस–एमालेको गठबन्धनप्रति गरिएका शंका उपशंकामाथि विश्वास नगर्न आग्रह गरिन् । यो गठबन्धन आउने निर्वाचनसम्मै चल्ने उनको दावी थियो ।
अधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने अधिवेशनमा ६५० प्रतिनिधिहरू सहभागी छन् । अधिवेशनले पाँच प्रमुख पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
जिल्ला अध्यक्षको दौडमा वर्तमान अध्यक्ष राजकिशोर यादवसँगै उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव , लक्ष्मी यादव र सन्तोष यादवको आकांक्षा देखिएको छ । यादव कांग्रेस त्यागेर एमाले प्रवेश गरेका नेता हुन् । पार्टी नेतृत्वले अधिवेशनलाई लोकतान्त्रिक अभ्यासको रूपमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे पनि आकांक्षीहरूको बढ्दो सक्रियता र गुटगत गोलबन्दीले प्रतिस्पर्धा चर्किने सम्भावना देखिएको छ ।


