एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २० :
जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गर्दै जनकपुरधाममा शनिवार दबाबमूलक र्याली निकालिएको छ। जानकी मन्दिर परिसरबाट सुरु भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो।
र्यालीमा ‘जानकी नवमीमा राष्ट्रिय विदा दे’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ लगायतका नारासहित सरकारलाई चेतावनी दिइएको थियो। मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकी नवमी हिन्दू धर्मावलम्बीका लागि पवित्र पर्व भएकाले राष्ट्रिय विदाको घोषणा हुनुपर्ने माग गरे। उनले राज्यको बेवास्ता धार्मिक भेदभाव भएको आरोपसमेत लगाए।
यसअघि वैशाख ७ गते प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्रमार्फत पनि सोही माग गरिएको थियो। तर सरकारको कुनै प्रतिक्रिया नआएको भन्दै सहभागिहरूले राज्यको विभेदपूर्ण दृष्टिकोणको आलोचना गरे।


