एसपी रिपोर्टर
रौतहट, बैशाख २० : बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरीले २२५ किलो गाँजा बरामद गरेको छ। गाँजा लोड गरिएको ट्याक्टरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्श कोतवाल–३, बाँतरा निवासी ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौंडा उपमहानगरपालिका–४ निवासी २१ वर्षीय कमाण प्रजा, मकवानपुरको कैलाश गाउँपालिका–४, देवतिसका २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५, छतिवनका २२ वर्षीय नवराज मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार, ट्याक्टर (प्र.२-०३-००१त ४८७६) आदर्श कोतवाल–३, बाँतरा गाउँछेउको खेतमा पार्किङ गरिएको अवस्थामा फेला परेको हो। प्रहरीलाई ट्याक्टरको ढालामुनि फल्स बटन बनाएर गाँजा लुकाइएको गोप्य सूचना प्राप्त भएपछि शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको हो।प्रहरीले ट्याक्टरबाट १५ वटा काटुनमा प्लास्टिकले बेरिएको २२५ किलोग्राम गाँजा फेला पारेको छ।चालक नन्दकिशोरलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप तीन जनाको संलग्नता खुलेपछि प्रहरीले कोल्हवी बजारस्थित रोज उड होटलको कोठा नम्बर ३०३ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो।बरामद लागुऔषध, ट्याक्टरसहित चारै जना हाल जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको बताइएको छ।


