एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ : मोटरसाइकलले छोएको विषयमा विवाद चर्किएपछि सिरहाको लहान नगरपालिका–३ दंग्राहा टोलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। घटनामा २७ वर्षीय देवकुमार महतो घाइते भएका छन्।

सिरहा प्रहरीका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार देवकुमारको टाउको, घाँटी र ढाडमा चोट लागेको छ र अहिले उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य छ।घटनामा संलग्न आरोपमा ६२ वर्षीय जिवछ महतो, उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको छ। यद्यपि खुकुरी प्रहार गरेको आरोप लागेका जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार रहेको प्रहरीले जनाएको छ।अनुसन्धान अनुसार मुकेशका दाजु मनिषले चलाएको मोटरसाइकलले देवकुमारलाई छोएपछि विवाद सुरु भएको थियो। त्यसपछि जिवछ महतोको परिवारका सदस्यहरूले मिलेर देवकुमारमाथि आक्रमण गरेका थिए। घटनास्थलको एक भिडियोमा मुकेशले देवकुमारमाथि पटक–पटक खुकुरी प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

बुधबार घटेको घटनाबारे ढिलो गरी जानकारी सार्वजनिक भएको हो। पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी दिएको छ। प्रहरीका अनुसार तीन जना नियन्त्रणमा रहेका छन् भने फरार रहेका मुकेश महतोको खोजी जारी छ।