एसपी रिपोर्टर
काठमाणडौँ, बैशाख १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ क्रान्तिको तयारीमा रहन कार्यकर्ता तथा नेता–कर्मचारीलाई आह्वान गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित १३६औँ मे दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक व्यवस्थालाई उल्ट्याउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध एकजुट हुन आग्रह गरे।उनले भने, “अबको आन्दोलन शान्तिपूर्ण हुनेछ, तर त्यसलाई दमन गर्ने प्रयास भयो भने कसैले रोक्न सक्दैन।” प्रचण्डले जनताको तागतमा संविधान संशोधन सम्भव हुने बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय प्रणाली अहिलेको आवश्यकता भएको उल्लेख गरे।
उनले माओवादी जनयुद्ध र जनआन्दोलनको मिश्रणले श्रमिकका हकअधिकार संविधानमा सुनिश्चित गर्न सम्भव भएको बताए पनि कार्यान्वयनको पक्षमा आत्मसमीक्षा आवश्यक भएको धारणा राखे।


