एसपी रिपोर्टर
काठमाणडौँ, बैशाख १८ : हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको घटनाप्रति नेपालस्थित पाकिस्तानी दूतावासमा ध्यानाकर्षण गराएको छ।
अभियानका महासचिव देवेस झाको नेतृत्वमा गएको टोलीले दूतावासका सैनिक प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै पाकिस्तान सरकारसँग आतङ्ककारी गतिविधिमा संलग्न लडाकुहरूलाई कारबाही गर्न माग गरेको हो।ज्ञापनपत्रमा भनिएको छ, “धर्म सोध्दै हिन्दु पर्यटकहरूलाई लक्ष्य बनाएर गरिएको उक्त आक्रमण अत्यन्त निन्दनीय छ। नेपाली नागरिक भएको स्पष्ट परिचय दिँँदा पनि सन्दीप न्यौपानेको हत्या हुनु सम्पूर्ण नेपालीका लागि दुःखद र आपत्तिजनक विषय हो।”वैशाख ९ गते कश्मीरको पहलगाममा भएको हमलामा सन्दीपसहित २७ जनाको ज्यान गएको थियो। ज्ञापनपत्रमा पाकिस्तानी सेना प्रमुख असिम मुनिरले हिन्दु समुदायविरुद्ध दिएको कथित भड्काउ अभिव्यक्तिपछि एक साताभित्रै आक्रमण भएको प्रसङ्ग उल्लेख गर्दै त्यस घटनामा पाकिस्तानी पक्षको संलग्नता हुन सक्ने शङ्का व्यक्त गरिएको छ।ज्ञापनपत्र बुझ्दै पाकिस्तानी दूतावासका सैनिक प्रमुखले भने भारतमा भएको घटनामा पाकिस्तानको संलग्नता नरहेको दाबी गरे। उनले भारतले पाकिस्तानमाथि जबरजस्ती दोषारोपण गरेको भन्दै त्यसकै आधारमा दुई देशबीचका सन्धि–सम्झौता भङ्ग गरिएको आरोप पनि लगाए।
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले पाकिस्तानी आतङ्कवादविरुद्ध कडा र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न नेपाल सरकार तथा नागरिक समाजलाई पनि आह्वान गरेको छ।


