एसपी रिपोर्टर
वीरगगञ्ज, बैशाख १८ : भारतले पाकिस्तानी र बङ्गलादेशी नागरिकलाई देश छाड्न आदेश दिएपछि नेपाल–भारत सिमानामा सुरक्षा सतर्कता बढाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज नाकासहित अन्य सीमावर्ती क्षेत्रमा निगरानी कडा गरेको जनाएको छ।
प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्न खोज्ने शंकास्पद व्यक्तिको कडाईका साथ जाँच भइरहेको छ। अबदेखि सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्न चाहनेले अनिवार्यरूपमा नागरिकता वा सरकारी परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।“सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमामा कुनै लापरवाही नहोस् भन्नका लागि सबै इकाइलाई निर्देशन दिइएको छ,” एसपी मिश्रले बताए। उनका अनुसार नाकामा ‘स्पेसल डग’ (सुँघ्ने कुकुर) समेत परिचालन गरिएको छ।वीरगञ्ज नाका हुँदै लागुऔषधको ओसारपसार भइरहेकाले समेत विशेष निगरानी गरिएको छ। मिश्रका अनुसार हाल पाकिस्तान र बङ्गलादेशका नागरिकहरू नेपाल प्रवेश गर्न सक्ने आशङ्काका आधारमा सुरक्षा समिति तथा गृह मन्त्रालयको सल्लाहअनुसार कडाइ गरिएको हो।भारतको कश्मीरस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादी आक्रमणमा मृत्यु भएपछि नेपालमा समेत सुरक्षाका दृष्टिले सतर्कता अपनाइएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीमावर्ती क्षेत्रमा थप प्रहरी बल तैनाथ गरिएको र ग्रामीण भेगका नाकाहरूमा समेत निगरानी कडा बनाइएको जानकारी दिए।
सभार रातोपाटी


