एसपी रिपोर्टर
वीरगञ्ज, बैशाख १८ : कलैया उपमहानगरपालिका–१८ निवासी सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टका अनुसार साहलाई अपहरणपछि वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित एक घरमा राखिएको अवस्थामा मंगलबार राति सकुशल उद्धार गरिएको हो।अपहरणमा संलग्न भएको आरोपमा रिकेशकुमार, राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका निवासी सिकेन्द्र साहलाई पक्राउ गरिएको छ। अपहरणमा संलग्न एक नाबालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ, तर कानुनी कारणवश नाबालकको विवरण सार्वजनिक गरिएको छैन।

शरीर बन्धकसम्बन्धी कसुरमा उनीहरूलाई अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए।