एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ :जनमत पार्टीका प्रवक्ता शरद यादवले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पहिचानवादी शक्तिहरूको एकता रोक्न नियोजित रूपमा पक्राउ गरिएको आरोप लगाएका छन्।
चौधरीलाई बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रम हुनुअघि नै काठमाडौँको प्रज्ञा भवनबाट सादा पोशाकका प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागार लगिएको हो। उनी पार्टी एकता कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए।प्रवक्ता यादवले चौधरीको गिरफ्तारीबारे अनविज्ञता प्रकट गर्दै भने, “हामी कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने छलफलमा थियौं। अचानक उहाँ पक्राउ पर्नुभयो भन्ने सुन्नमा आयो। के कारणले लिएर गएका हुन्, हामीलाई थाहा छैन।”उनले चौधरीको गिरफ्तारीलाई योजनाबद्ध रूपमा गरिएको भन्दै थपे, “संरक्षकज्यूलाई कुनै जानकारी नदिई पक्राउ गरेर एकीकरण हुन नदिन खोजिएको हो। थारु, मधेसी र अन्य पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन् भन्ने सन्देश दिन खोजिएको देखिन्छ।”यादवका अनुसार अब दुबै पार्टीका नेताहरू बसेर आगामी रणनीति तय गरिनेछ। हालका लागि तय गरिएको एकता प्रक्रिया स्थगित गरिएको उनले जानकारी दिए।
यता, जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिल बोहराले भने चौधरीलाई सर्वोच्च अदालतको आदेश अनुसार पक्राउ गरिएको बताए। “पहिलेको मुद्दामा बाँकी कैद भुक्तान गर्नुपर्ने भएकाले उनलाई पक्राउ गरिएको हो,” एसपी बोहराले भने।


