एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ : सरकार र शिक्षक महासंघबीच आज दिउँसो निर्णायक वार्ता हुने भएको छ। सोमबार र मंगलबार राति अबेरसम्म चलेको वार्ता सकारात्मक दिशामा अगाडि बढेपछि आजको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय गरिएको छ। महासंघको आज बिहान बसेको बैठकले वार्तामा सहभागी हुने निर्णय गर्दै, सरकार जस्तो प्रस्तुत हुन्छ, महासंघ पनि त्यही अनुरूप प्रस्तुत हुने बताएको छ।

‘अग्रगामी शिक्षा ऐन जारी गर्ने विषयमा वार्ता भइरहेको छ। अहिलेसम्म सरकारले विश्वासिलो आधार निर्माण गरेको छैन,’ पराजुलीले भनिन्, ‘सरकारले विश्वासको वातावरण बनायो भने हामी पनि त्यही अनुरूप प्रस्तुत हुन्छौं। यदि विश्वासको आधार निर्माण भएन भने त्यसको आधारमा नै हाम्रो धारणा हुनेछ।’

मंगलबार रातिको बैठकमा महासंघले सरकारसमक्ष ९ बुँदे प्रस्ताव प्रस्तुत गरेको थियो। सो प्रस्तावमाथि आजको वार्तामा विस्तृत छलफल हुने जनाइएको छ। मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएमा आन्दोलनको स्वरुप परिवर्तन गरिने महासंघका नेताहरूले बताएका छन्।

शिक्षामन्त्री रघुजी पन्तले मंगलबारको वार्तापछि संवाद सकारात्मक भएको र आज निर्णयमा पुग्ने विश्वास व्यक्त गरेका थिए।

शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालयका कर्मचारी तथा ईसीडी शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादाक्रम, अस्पतालमा शिक्षकको उपचार छुट, निम्न माध्यमिक र माध्यमिक तहको तलब, प्रधानाध्यापकको जिम्मेवारी तथा राहत शिक्षकको विषय समेटिएका छन्।

यदि ऐनमा यी विषयहरू समावेश नगरी मन्त्रिपरिषद्बाट निर्णय गरिए पनि, त्यसमा स्पष्ट कार्यान्वयनको समयसीमा तोकिएको खण्डमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघको धारणा छ।

यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पनि यिनै विषयलाई समेट्दै ७ बुँदे प्रस्ताव तयार पारेकी थिइन्, जसअनुसार करिब ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो। अहिलेको ९ बुँदे र भट्टराईको ७ बुँदे प्रस्तावलाई आधार बनाएर आजको वार्तालाई निर्णायक बनाउने र मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी सरकारको रहेको छ।