एसपी रिपोर्टर
काठमाणडौं, बैशाख १६ : २७ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले आठौँ तह बराबरको निर्वाह भत्ता सुनिश्चित नभएसम्म आन्दोलन फिर्ता नलिने अडान दोहोर्याएका छन्।
चैत्र २१ गतेदेखि सेवा बहिष्कार गर्दै आएका उनीहरूले निर्वाह भत्ता आउने सुनिश्चितता र कलेजमा सम्मानपूर्वक फर्किन सक्ने वातावरण बने मात्र आन्दोलन फिर्ता लिने जनाएका हुन्।यसअघि सरकारी स्तरको निर्वाह भत्ता दिन नसक्ने भनिरहेका निजी मेडिकल कलेज सञ्चालकहरू चिकित्सा शिक्षा आयोगले स्नातक तह (एमबीबीएस) मा सिट संख्या र शुल्क वृद्धि गर्न सकिने निर्णय गरेपछि भत्ता दिन सहमत भएका थिए। आयोगको चैत्र १५ गते बसेको १९ औँ बैठकले सिट र शुल्क वृद्धि गर्न सकिने निर्णय गरेको हो।एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले आयोगको बैठक सुरु हुनुअघि नै आफूहरू आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिन तयार रहेको बताएका थिए।
यता, लुम्बिनी मेडिकल कलेजका आवासीय चिकित्सक डा. दीपक कडेँलले “भत्ता दिने भनाइ मात्रै पर्याप्त छैन, खातामा रकम आउनुपर्छ,” भन्दै व्यावहारिक कार्यान्वयनको माग गरेका छन्।


