एसपी रिपोर्टर
विराटनगर, बैशाख १६
: सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस चार दिनपछि मोरङको विराटनगरमा फेला परेको छ।

शुक्रबार बिहान धरान उपमहानगरपालिका–८, दुर्गापथस्थित एक ग्यारेजबाट हराएको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२, मंगलबारेमा फेला परेको हो। बसका मालिक हरेन्द्र चेम्जोङ रहेका छन्।प्रहरीका अनुसार, बसको केही पार्टपुर्जा विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएको कवाडी गोदाममा भेटिएको छ। सीसीटीभी फुटेजमा बस पूर्व–पश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगरतर्फ गइरहेको देखिए पनि त्यसबेला बसको ठेगाना पत्ता लागेको थिएन।स्थानीयले मंगलबारे क्षेत्रमा बेवारिसे अवस्थामा बस देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बस चोरीमा संलग्न समूहको खोजी जारी राखेको जनाएको छ।

उक्त पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी यातायात’ र तल्लो भागमा ‘याक्थुङ यातायात’ लेखिएको छ।