एसपी रिपोर्टर
सिरहा, बैशाख १६ : सिरहा नगरपालिका द्वारा तोकिएको पब्लिकेशनमार्फत अनिवार्य रूपमा पाठ्यपुस्तक प्रयोग गर्न गरिएकाे निर्णय र जारी परिपत्र कार्यान्वयन नगर्न उच्च अदालत राजविराजले अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश सरला कुमारी पाण्डे र माधव धितालको संयुक्त इजलासले दिएको अन्तरिम आदेशमा २०८१ चैत १८ मा नगरपालिकाले गरेको निर्णय र चैत २० मा जारी सूचना रिटको अन्तिम टुंगो नलागेसम्म लागू नगर्न भनिएको छ।नगरपालिकाले नेपाली, अंग्रेजी, अनिवार्य गणित, विज्ञान तथा प्रविधि, र सामाजिक अध्ययन विषयका लागि तक्षशिला, जनक शिक्षा सामग्री केन्द्र, टाइम्स, वेदान्त, विद्यार्थी र रिडमोर पब्लिकेशनका पुस्तक मात्रै प्रयोग गर्न निर्देशन दिएको थियो। यसलाई उल्लंघन गर्ने विद्यालयलाई कारबाहीको चेतावनीसमेत दिइएको थियो।तर, शिक्षा नियमावली २०५९ को नियम ६(क) अनुसार नेपाल सरकारबाट स्वीकृत कुनै पनि पब्लिकेशनको पाठ्यपुस्तक प्रयोग गर्न पाइने व्यवस्था छ।
नगरपालिकाको उक्त निर्णयविरुद्ध निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन सिरहाको तर्फबाट भरत कुमार यादवले उत्प्रेषणयुक्त निषेधाज्ञा माग गर्दै रिट निवेदन दायर गरेका थिए।


