एसपी रिपोर्टर
काठमाणडौँ, बैशाख १६
: जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी रुपमा विस्तार गर्ने निर्णय गरेको छ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, पार्टीले सुनसरीको धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलबकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठीको मुख्य उद्देश्य पहिचानको आन्दोलनलाई देशव्यापी बनाउने र पहिचानको आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर्ने रहेको छ।बस्नेतका अनुसार, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको रक्षाका लागि संघर्ष थालनीको रुपमा सो गोष्ठी आयोजना गरिँदैछ। कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ताको रुपमा रहनेछन् भने सह–अध्यक्ष रकम चेम्जोङले अध्यक्षता गर्नेछन्।आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, पिछडिएको वर्ग, अल्पसंख्यक, पछाडि परेका तथा पारिएका जाति/समुदाय र क्षेत्रका जनताको हक–अधिकार सुनिश्चित गर्न तथा विद्यमान असमानता, अन्याय, शोषण, उत्पीडन र विभेदको अन्त्यका लागि पार्टीले साङ्गठनिक गतिविधि, अन्तरक्रिया तथा विभिन्न संघर्ष कार्यक्रमहरू सञ्चालन गर्दै आएको बस्नेतले बताए।

नेता रकम चेम्जोङको संयोजकत्वमा गठित आन्दोलन परिचालन तथा समन्वय समितिको आयोजनामा आगामी बैशाख २० गते उक्त गोष्ठी आयोजना गरिने जनाइएको छ।