एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख १४
: काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलन आइतबार झडपमा परिणत भएको छ। लामो समयदेखि शान्तिपूर्ण प्रदर्शन गर्दै आएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

शिक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको र त्यसपछि शिक्षकहरूले समेत ढुंगामुढा गरेको प्रहरीको भनाइ छ। झडपका क्रममा प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरा प्रयोग गरेको थियो।यसअघि शनिबार पनि शिक्षकहरूले केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए।शिक्षकहरूको आन्दोलन गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनका रूपमा सुरु भएको हो। आन्दोलनको अवधि २५ दिन नाघिसकेको छ।

शिक्षक महासंघका अनुसार यो आन्दोलन गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी तथा शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउनका लागि गरिएको अन्तिम र निर्णायक संघर्ष हो।