एसपी रिपोर्टर
गोलबजार , वैशाख १४
: सिरहा र उदयपुरलाई जोड्ने कच्ची ट्रयाक खुल्ला भएपछि दुई जिल्लाका स्थानीय बासिन्दाहरूलाई आवतजावतमा सहज भएको छ। पहाड फोडेर सडकको ट्रयाक खुलेसँगै दुर्गम बस्तीहरू सञ्जालमा जोडिएका छन्।

सिरहाको धनगढीमाई नगरपालिका–१४ गागन बस्ती र उदयपुरको कटारी नगरपालिका–५ सलहेश डाँडालाई जोड्ने सडक धनगढीमाई–१४ वडा कार्यालयले निर्माण गरेको हो। यस सडकले सिरहाको दुर्गम क्षेत्र मानिएको धनगढीमाई–१४ लाई सुगम पहुँचमा ल्याएको छ। स्थानीय तह पुनर्गठनपछि विस्तारै सडक, बिजुली र अन्य आधारभूत सेवाहरू विस्तार भइरहेको भए पनि, यहाँका स्थानीय अझै खानेपानीको समस्या झेलिरहेका छन्।वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा गरी ३० लाख रुपैयाँको लागतमा सात मिटर चौडाइको कच्ची सडक निर्माण गरेको हो। यस सडकले सिरहाको गागन बस्ती र उदयपुरको सलहेश डाँडाका बासिन्दाहरूलाई पूर्व–पश्चिम लोकमार्ग र मदन भण्डारी राजमार्गसम्म सहज पहुँच दिलाएको छ। धनगढीमाईकै गागन बस्तीबाट करिब तीन किलोमिटर उत्तरमा मदन भण्डारी राजमार्ग रहेको छ।यो सडक धनगढीमाई–१० जिरोमाइल हाथीढुङ्गा, अमलेधोवान, करुढोका, गागनखोला हुँदै सरेखोलाको भित्तेपानीबाट सलहेश डाँडा (कटारी–५) हुँदै मदन भण्डारी मार्गमा जोडिएको छ। कटारी–५ का विश्वास तमाङले अब पूर्व–पश्चिम लोकमार्ग जान मर्चैया वा सप्तरीको कदमहा बजार हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको बताएका छन्।धनगढीमाई–१४ का वडाध्यक्ष अमित ठकुरीले नयाँ सडक निर्माणले वडावासीहरूलाई आवतजावतमा मात्र नभई व्यापारिक प्रयोजनमा पनि ठुलो सहजता दिएको बताए। सडकलाई वर्षातको समयमा पनि सञ्चालनयोग्य बनाउन तत्काल १० वटा कल्भर्ट र दुई वटा पुल आवश्यक रहेको उनले बताए।

त्यस्तै, स्थानीय जनक मोते परियारले सडक बनेपछि गाउँमा आवतजावत निकै सहज भएको अनुभव साझा गरे। धनगढीमाई नगरपालिकाका इञ्जिनियर गङ्गाप्रसाद यादवले विकासको मूलधारबाट टाढा रहेका दुर्गम बस्तीहरू सडक सञ्जालमा जोडिएपछि जीवनस्तर सुधारमा मद्दत पुग्ने बताएका छन्।