एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख १४ : धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलचोकमा आइतबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा भीषण आगलागी भएको छ। ठक्करपछि दुबै ट्रकमा आगो लागेर ठूलो क्षति भएको धनुषा प्रहरीले जानकारी दिएको छ।
सिरहाबाट धल्केवरतर्फ गइरहेको ना ६ ख ३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश–२, ००१ ख ०७१५ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा आगलागी भएको हो। धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार ठक्करपछि ट्रकको ट्याङ्की फुटेर तेल फैलिएको थियो, जसका कारण दुबै ट्रकमा आगो सल्किएको बताइएको छ।आगलागीबाट ना ६ ख ३४६३ नम्बरको ट्रक पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको भनाइ छ। दुर्घटनामा दुबै ट्रकका चालक घाइते भएका छन्। घाइते चालकहरू सर्लाही जिल्लाका लालबन्दी नगरपालिका–१५ निवासी रोशन कौशल कार्की र मौलापुर निवासी मुकेशकुमार झा रहेको प्रहरीले जनाएको छ। उनीहरूको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार एउटा ट्रक गलत साइडबाट प्रवेश गरेपछि दुर्घटना भएको हो। यद्यपि, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनकपुर प्रहरी कार्यालयले जनाएको छ।


