एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख १३
: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने स्पष्ट पार्नुभएको छ।

भारतको काश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज आयोजित सभामा मन्त्री डा. राणाले नेपाल सधैं आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा उभिएको बताउनुभयो।मन्त्री डा. राणाले आतंकवादप्रति व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपालले आफ्नो भूमि कुनै पनि आतंकवादी समूहद्वारा कुनै पनि देश वा जनताविरुद्ध प्रयोग हुन नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पहलगाम हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउनुभयो।यस दुःखद घडीमा नेपाल भारत सरकार र भारतीय जनताको पक्षमा दृढतापूर्वक उभिएको भन्दै मन्त्री डा. राणाले आतंकवाद विरुद्धको लडाइँमा नेपाल भारतसँग काँधमा काँध मिलाएर अगाडि बढिरहेको उल्लेख गर्नुभयो।नेपाल–भारत सम्बन्ध केवल कूटनीतिक मात्र नभई साझा इतिहास, संस्कृति र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै उहाँले भनिन्, “हाम्रा खुला सिमानाहरू आपसी विश्वासका प्रतीक हुन् र पारिवारिक सम्बन्धहरूले हामीलाई अझ नजिक बनाएका छन्। संकट र खुसी दुबै बेला हामी सँगै उभिएका छौं। भूकम्पले नेपाल तहसनहस हुँदा सबैभन्दा पहिला सहयोगको हात भारतले नै बढाएको थियो।”

मन्त्री डा. राणाले पहलगाम त्रासदीमा ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेको शव तथा अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गर्नुभयो।