एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १३ : विहार सरकारका पञ्चायती राज्य विभागका मन्त्री केदार प्रसाद गुप्ताले नेपाल र भारत सच्चा छिमेकी मित्र राष्ट्र भएको बताउँदै समृद्ध नेपाल भारतको साझा चाहना रहेको बताउनुभएको छ।
कानू समाज नेपालद्वारा जनकपुरधाममा आयोजित एक भेलामा बोल्दै मन्त्री गुप्ताले नेपालको समृद्धि र विकास यात्रामा भारत सरकार पूर्ण सहयोगका लागि तत्पर रहेको स्पष्ट गर्नुभयो। उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विहारका मुख्यमन्त्री नीतिश कुमार सिंह नेपालप्रति सदैव चिन्तित रहँदै आवश्यक सहयोग र समन्वय गरिरहेको जानकारी दिनुभयो।कार्यक्रम धनुषा कानू समाजका अध्यक्ष उदयचन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, कानू समाजका संस्थापक अध्यक्ष दशरथ साहसहित अन्य वक्ताहरूले नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।मन्त्री गुप्ताले मन्तव्यका क्रममा नेपाल संसारकै एक मात्र हिन्दू राष्ट्रको रूपमा चिनिएको स्मरण गराउँदै पवित्र नेपाली भूमिमा आउन पाउँदा आफू गर्वान्वित महसुस गरेको बताउनुभयो।

सो अवसरमा जनकपुर नगर समितिका अध्यक्ष शंकर प्रसाद साहको नेतृत्वमा गठित २५ सदस्यीय नयाँ कार्यसमिति तथा कानू समाज युवा मञ्चका अध्यक्ष सन्तोष साहको नेतृत्वमा निर्वाचित २१ सदस्यीय कार्यसमितिका पदाधिकारीहरूले शपथ ग्रहण गर्नुभएको थियो।


