एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १३ : नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिविरुद्ध शनिबार बिहान धनुषाको लक्ष्मिनिया बजारमा प्रदर्शन गर्दै पुतला दहन गरेका छन्। उनीहरूले सडकमा आधा घण्टा चक्काजामसमेत गरेका हुन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा लिङ्देनले राजावादी आन्दोलनको सन्दर्भमा कांग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट र तोडफोड गरेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई “गलत र निराधार” भन्दै कांग्रेस कार्यकर्ताहरू आक्रोशित भएका हुन्।धनुषा क्षेत्र नम्बर ४ का कांग्रेस क्षेत्रीय अध्यक्ष कुमरकान्त झाको नेतृत्वमा बिहान ९:३० देखि १०:०० बजेसम्म पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लक्ष्मिनिया बजार क्षेत्रमा चक्काजाम गर्दै प्रदर्शन गरिएको थियो।

प्रदर्शनकारीहरूले लिङ्देनलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष झाले भने, “राप्रपा अध्यक्ष लिङ्देनले हाम्रा सहमहामन्त्रीविरुद्ध झुठो र आपत्तिजनक अभिव्यक्ति दिएका छन्। यो विरोध सांकेतिक हो, सरकारले कारबाही नगरे कडा आन्दोलनमा उत्रिन्छौं।”



