एसपी रिपोर्टर
काठमाणडौं, वैशाख १२
: नेपाल सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालको मातृसंस्था मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन अन्तिम मौका दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिँदै, मेटाले नेपाल सरकारका पटक–पटकका आग्रह बेवास्ता गरेको बताए।

मन्त्री गुरुङले भने, “हामीले तीनपटक दर्ता र कर तिर्न आग्रह गर्‍यौं, तर मेटाले कुनै चासो देखाएन। उनीहरूले नेपालको कानुनको अवज्ञा गरे। अब सात दिनभित्र दर्ता नभएमा मेटाको सेवामा प्रतिबन्ध लगाइनेछ।”उनले मेटाका सेवा प्रयोगमार्फत हरेक घण्टा नेपाली समाजबाट हजारौं रकम विदेश गइरहेको उल्लेख गर्दै, “हाम्रो पैसा यसरी अवैध रूपमा विदेश जान दिन मिल्दैन,” भने। साथै, नेपालमा सेवा सञ्चालन गर्नका लागि मेटाले कानुनी हैसियत पाउनु पर्ने र कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो।

सरकारले जारी सूचना अनुसार, टिकटक जस्ता केही प्लेटफर्म नेपालमा दर्ता भइसकेका छन्, तर फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता प्रमुख प्लेटफर्महरूले अझै दर्ता प्रक्रिया पूरा गरेका छैनन्। सरकारका अनुसार यी कम्पनीहरूले नेपाल सरकारप्रति अटेरपूर्ण व्यवहार गरेका छन्।