एसपी रिपोर्टर
सिरहा, वैशाख १२ : सिरहामा प्रादेशिक अस्पतालमा चरम भ्रष्टाचार, अनियमितता, सेवामा लापरबाही र बिरामीमाथिको शोषणविरुद्ध स्थानीय युवाहरूले आन्दोलन सुरु गरेका छन्। अस्पताल सुधारको माग गर्दै उनीहरूले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुनिल कुशवाहाको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
आन्दोलनकारीहरूका अनुसार तीन दिनअघि १७ बुँदे मागसहित अल्टिमेटम दिइएको थियो। तर अस्पताल प्रशासनले मागप्रति कुनै चासो नदेखाएको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ।युवाहरूले अस्पतालमा बिरामीलाई निःशुल्क उपलब्ध हुनुपर्ने औषधि तथा सेवा सुविधाबाट वञ्चित गराइएको गम्भीर आरोप लगाएका छन्। साथै, औषधि खरिदमा कमिसनको चलखेल रहेको र प्रशासनिक लापरबाहीले सेवा प्रभावित भएको भन्दै तत्काल सुधारको माग गरिएको छ।


