एसपी रिपोर्टर
रौतहट, वैशाख १२ :
रौतहटको मालपोत कार्यालय गौरमा सेवा लिन आउने सेवाग्राहीहरू बैंक काउन्टरको अभावका कारण सास्ती भोग्न बाध्य भएका छन्। राजस्व बुझाउन सहज व्यवस्था नहुँदा सेवाग्राहीलाई कार्यालय र बैंकबीच दिनभर धाएर काम गर्नुपरेको छ।

बजारमा दर्जनौं बैंक भए पनि मालपोत कार्यालय परिसरमा कुनै पनि बैंकको एक्सटेन्सन काउन्टर नहुँदा दैनिक ५० देखि १०० जना सेवाग्राहीलाई समस्या भएको नागरिक समाजका अध्यक्ष विजयकिशोर झाले बताए। उनका अनुसार कार्यालयका प्रमुखले सेवाग्राहीको सुविधाप्रति कुनै चासो नदिएको आरोप पनि लागाएका छन्। “बैंकसँग समन्वय गरेर एक काउन्टर स्थापना गरिदिएको भए एक मिनेटमै काम सकिन्थ्यो,” अध्यक्ष झाले भने।सेवाग्राहीहरू राज्यलाई राजस्व तिर्न समस्या बनाइने कार्यलाई गम्भीर बेवास्ता भन्दै यस्ता हाकिमलाई सरुवा गरेर जिम्मेवार अधिकारी पठाउनुपर्ने माग पनि गरिरहेका छन्। मालपोत कार्यालयकै परिसरमा नापी कार्यालय र जिल्ला अदालत रहे पनि नजिकै बैंक नहुँदा झनै समस्या भइरहेको उनीहरूको गुनासो छ।दुर्गा भगवती वडा नं. २ का रामचन्द्र दासले १० धुर जग्गा रजिस्ट्रेसन गराउन दुई दिन लाग्नुपरेको अनुभव सुनाउँदै भने, “सबै प्रक्रिया सकिँदासम्म ४ बजिसकेको थियो। राजस्व बुझाउन बैंक पुगेँ, तर ढोका बन्द भइसकेको रहेछ। अर्को दिन फिर्ता आउनुपर्‍यो।”गौर वडा नं. २ का अर्का सेवाग्राही महदेव पासवानले कृषि कर्जाका लागि जग्गा धितो राख्न पुगेका थिए। रोक्का दस्तुर बुझाउन बैंकमा लामो लाइन बसेपछि फर्किँदा मालपोत कार्यालय बन्द भइसकेको थियो। “गौरकै मान्छे भएर गौरमै रहेको कार्यालयमा सेवा लिन दुई दिन लाग्यो,” उनले गुनासो गरे।मालपोत कार्यालयका प्रमुख धर्मराज रोकायाले भने बैंकसँग पटकपटक अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको बताए। “राजस्व दाखिलामा समस्या बैंकको ढिलासुस्तीका कारण हो,” उनले प्रष्ट पारे।

राष्ट्रिय वाणिज्य बैंक गौरका शाखा प्रमुख सुनिल भण्डारीले भने एक्सटेन्सन काउन्टर राख्नका लागि केन्द्रमा प्रस्ताव पठाइसकेको जानकारी दिए। – समाचार गोरखापत्र