एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२
: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा मुख्यमन्त्री सिंह र मेयरबीच मधेश प्रदेशमा एसडिसीले सञ्चालन गरिरहेको विभिन्न योजनाको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल भएको थियो। साथै, प्रदेश सरकारसँगको समन्वय र सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचारविमर्श गरिएको थियो।मुख्यमन्त्री सिंहले नेपालको विकास यात्रामा स्विस सरकारद्वारा प्रदान गरिएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै संघीय शासन प्रणाली अझै पूर्ण रूपमा व्यवस्थापन र विस्तार नहुँदा उपलब्ध साधनस्रोतको अधिकतम उपयोगमा कठिनाइ भइरहेको बताए।उनले संघीय कानुन अभाव, कार्यविधि तथा निर्देशन प्रक्रियाको जटिलता, र दक्ष जनशक्तिको अभावले योजनाको कार्यान्वयनमा असर पुर्‍याएको भए पनि विकास साझेदार संस्थामार्फत प्राप्त बजेट निर्धारित समयभित्र खर्च भइरहेको जानकारी दिए।सिंहले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सीपयुक्त बनाउन मधेश विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा प्रदान गर्ने तयारी भइरहेको उल्लेख गरे। साथै, वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार, भेटमा एसडिसीले आगामी दिनमा सञ्चालन गर्ने योजनाहरूमा कार्यान्वयन र साझेदारी विस्तार गर्ने सहमति जनाएको छ।डेपुटी चिफ अफ मिसन मेयरले सुरक्षित श्रम अप्रवासनको क्षेत्रमा एसडिसीले गरिरहेका प्रयासबारे जानकारी दिँदै, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र प्रभावकारी बनाउने तथा फर्केका श्रमिकको सीप र पूँजीलाई स्वदेशमै उपयोग गर्ने अनुभवहरू पनि साझा गरे।

त्यसैगरी, उनले स्विस सरकार नेपालमा सञ्चालन गरिरहेको परियोजनाको मूल्यांकन भइरहेको र आगामी चार वर्षका लागि नयाँ योजना तर्जुमा गर्ने तयारीमा रहेको जानकारी दिए। उनले पूर्वाधार, मानव संशाधन विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र रोजगारीका क्षेत्रमा प्रदेश सरकारसँगको सहकार्यलाई अझ विस्तृत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।