एसपी रिपोर्टर
बैंकक, वैशाख १२
: थाइल्यान्डको प्रसिद्ध समुद्री तटीय सहर हुआ हिनमा शुक्रबार बिहान एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा ६ जना प्रहरीको मृत्यु भएको छ।

रोयल थाई प्रहरीका प्रवक्ता आर्चायोन क्राइथोङका अनुसार, प्यारासुट प्रशिक्षणको तयारीस्वरूप परीक्षण उडानमा रहेको विमान उडानकै क्रममा अचानक सन्तुलन गुमाएर समुद्रमा खसेको थियो। दुर्घटना बिहान ८:१५ बजे फेत्चाबुरी राज्यको चा-आम रिसोर्ट नजिकै भएको हो।दुर्घटनापछि विमान दुई टुक्रा भएको थियो। पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ। सबै मृतकको शव समुद्रबाट निकालिएको प्रहरीले जनाएको छ।विस्फोटको ठूलो आवाज टाढासम्म सुनिएकोले स्थानीयवासीहरूमा त्रास फैलिएको थियो। प्रहरी र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्दार कार्य थालेका थिए।

विमानको ब्ल्याक बक्स फेला परेको छ र त्यसको विश्लेषणबाट दुर्घटनाको वास्तविक कारण पत्ता लाग्ने आशा गरिएको छ। घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।