एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ : नेपाल चिकित्सक संघको आह्वानमा र जनकपुर अञ्चल शाखाको नेतृत्वमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय, धनुषामा आयोजित धर्नामा सयौं चिकित्सक सहभागी भएका थिए। उनीहरूले आपतकालीन सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन्।चिकित्सकहरूका अनुसार, चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भए पनि हालसम्म कार्यान्वयन नभएपछि आफूहरू आन्दोलनमा उत्रन बाध्य भएका हुन्।डा. रामजी यादवका अनुसार, “निर्णय भएको लामो समय बितिसक्यो तर अहिलेसम्म कुनै प्रगति देखिएको छैन।” उनले जनकपुरधामका सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिक र अन्य स्वास्थ्य संस्थामा आपतकालीन सेवा बाहेकका सम्पूर्ण सेवा शुक्रबारदेखि ठप्प भएको जानकारी दिए।
प्रदर्शनका क्रममा चिकित्सकहरूले ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका थिए। डा. यादवले नागरिक समाज, सञ्चारकर्मी तथा आम जनतालाई आन्दोलनमा साथ दिन आग्रह गर्दै भने, “हामीलाई आन्दोलनमा उत्रन बाध्य पारिएको हो। यो कुनै व्यक्तिगत स्वार्थ होइन, स्वास्थ्य प्रणालीमा व्याप्त अन्याय र बेवास्ताविरुद्धको सामूहिक आवाज हो।”


