एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२
: धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीमा भएको विष सेवन घटनापछि तीन सन्तानको मृत्यु भएपछि उपचाररत आमाको पनि ज्यान गएको छ।

३० वर्षीया पविता कुमारी साहको आज बिहान ९:४५ बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।गत सोमबार साँझ आफ्नै घरमा पविता आफ्ना तीन सन्तानसहित विष सेवन गरेको अवस्थामा फेला परेकी थिइन्। सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, घरायसी विवादका कारण पविताले तीन सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेको खुल्न आएको छ। नौ महिनाकी गर्भवती पविताको शल्यक्रिया गरी शिशु निकालिएको थियो। शिशुको अवस्था सुधारोन्मुख र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए।

विष सेवन गरेको थाहा पाउनेबित्तिकै परिवारका सदस्यहरूले पवितालाई अस्पताल पुर्‍याएका थिए। यता, पविताको माइती पक्षले भने उनलाई निरन्तर शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएका छन्।