एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ :
रौतहटको मध्यभागमा पर्ने गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा एक बालकको शव फेला परेको छ। वृन्दावन नगरपालिका–७ निवासी सुरुज राय यादवका १४ वर्षीय छोरा कृष्ण प्रसाद यादवको शव आज बिहान ९ बजे खोलामा घोप्टो अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए।डीएसपी कार्कीका अनुसार, बालक पाँच दिनदेखि बेपत्ता थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धान टोलीसहित घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धानका आधारमा बालकको कर्तव्यपूर्वक हत्या गरिएको आशंका गरिएको उनले बताए।“शवको पेट र कञ्चटमा गहिरो चोट छन्, धारिलो हतियार प्रयोग गरिएको देखिन्छ,” डीएसपी कार्कीले भने।शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

बालक गत वैशाख ६ गते साँझ ४ बजे आफ्नै मोटरसाइकलमा बिर्ता गाउँ जान्छु भन्दै घरबाट निस्केका थिए। तर, तीन दिनसम्म घर नफर्किएपछि वैशाख ९ गते उनका परिवारले जिल्ला प्रहरी कार्यालय अन्तर्गत ज्येष्ठ नागरिक, महिला तथा बालबालिका सेलमा बालक बेपत्ता भएको उजुरी दिएका थिए।