एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ११ : वीरगञ्ज नाकासंग जोडिएको भारतको रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरहरुको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
राम्रो तलब पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालीम दिइरहेको बेला, उद्धार गरिएको ८ जनासहित ५०० जना बढी व्यक्तिहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरी छानबीन गर्दा सबै बालक १८ वर्ष भन्दा कम उमेरको र प्रलोभनमा परेर आएको खुलासा भएको थियो । त्यसपछि उनीहरुलाई भारतस्थित एक सुधारगृहमा लगेर राखीएको थियो । सो जानकारी अनुसार भारतको दिल्लीस्थित किन ईन्डिया संस्थाका नवीन जोसी र मधेश प्रदेशस्थित राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोको पहलमा बिहीबार ती किशोरहरुको उद्धार गरी परिवारजनको जिम्मा लगाइएको छ ।उद्धार गरिएका किशोरहरुसहित ५६८ जनालाई रक्सौलस्थित दुईवटा निजि अपार्टमेन्टमा राखेर नक्कली कम्पनि वीनमेकरको आडमा नेटवर्किङ विजनेसको तालीम दिइरहेको अवस्थामा फेला परेका थिए ।
उनीहरुलाई सो नक्कली कम्पनिका कथित कर्मचारीहरुले अन्य चिनछानका साथीभाईहरुलाई राम्रो पैसा कमाउने प्रलोभन दिएर रक्सौल बोलाउन लगाउने कार्य गराएको किन ईन्डिया संस्थाका नवीन जोसीले जानकारी दिए ।





