एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ११
: तराईका विभिन्न स्थानमा आज र भोलि अत्यधिक गर्मी हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मीको सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशका तराई भू–भागहरूमा तातो हावा र तातो लहर (हीट वेभ) को जोखिम उच्च भएकाले त्यसको असरबाट जोगिन सतर्क रहन आग्रह गरिएको छ।महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तराई भू–भागमा पछिल्ला केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि मापन गरिएको छ। अन्य प्रदेशका तराई क्षेत्रहरूमा पनि ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी तापक्रम मापन भएको जानकारी दिइएको छ।तातो हावा र तातो लहरका कारण थकाई, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुखाइ, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने महाशाखाले जनाएको छ।

यसबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, आवश्यक परे मात्र बाहिर निस्कन, हल्का र सुती कपडा लगाउन, टाउको छोप्ने टोपी प्रयोग गर्न, नियमित रूपमा प्रशस्त पानी, जुस तथा तरल पदार्थ सेवन गर्न र कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको सम्पर्कमा रहन अनुरोध गरिएको छ।