एसपी रिपोर्टर
बुटवल, वैशाख ११ :
भारतको जम्मु–कश्मीरमा आतंकवादी हमलामा परी ज्यान गुमाएका बुटवलका सुदीप न्यौपाको अन्त्येष्टि आजै त्रिवेणीमा गरिने भएको छ। पश्चिम नवलपरासीसँग सीमा जोडिएको त्रिवेणीस्थित गण्डक नदी किनारमा अन्त्येष्टि गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

२७ वर्षीय सुदीप न्यौपा मंगलबार दिउँसो वैसरण उपत्यकामा घुम्ने क्रममा आतंकवादीको गोली लागेर मारिएका थिए। उनलाई बन्दुकधारी आतंककारीले लक्षित गरी गोली हानेको थियो। शव आज बिहानै बुटवलस्थित घर ल्याइएको हो।सुदीप शनिबार आमा रिमाकला न्यौपा, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित हिउँ खेल्ने तथा घुमघाम गर्ने उद्देश्यले वैसरण उपत्यकातर्फ प्रस्थान गरेका थिए। सो क्षेत्र ‘मिनी स्वीट्जरल्यान्ड’ भनेर समेत चिनिन्छ। घुमघामकै क्रममा उनीहरूमाथि आतंकवादी आक्रमण भएको थियो।हमलाको क्रममा सुदीपको घटनास्थलमै मृत्यु भए पनि साथमा रहेका आमा, बहिनी र ज्वाइँ भागेर ज्यान जोगाउन सफल भएका थिए। भाग्ने क्रममा आमा रिमाकला सामान्य घाइते भएकी थिइन्। उनीहरू पनि अहिले सुदीपको शवसँगै घर आइपुगेका छन्।