एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख ११ : नेकपा माओवादी केन्द्रद्वारा संचालन गरिएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगरमा समापन हुने भएको छ। फागुन १२ गते झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट सुरु गरिएको यो अभियान बीचमा राजावादीहरूको सडक सक्रियता देखिँदा केही समयका लागि स्थगित गरिएको थियो।
पार्टीका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलका अनुसार, लुम्बिनी प्रदेशका जिल्लाहरूमा अभियान सम्पन्न गरी वैशाख १५ गते अभियान टोली कैलाली जिल्लामा प्रवेश गर्दैछ। उनले कैलाली प्रवेशको अवसरमा कर्णाली नदीस्थित सतीघाटमा अभियान टोलीलाई भव्य स्वागत गरिने जानकारी दिए।पोखरेलले अभियानको उद्देश्य जनतासँग सिधा संवाद गर्नु रहेको बताए। कार्यक्रम अन्तर्गत सहिद परिवार, घाइते तथा विभिन्न क्षेत्रका गरिब, उत्पीडित समुदायसँग भेटघाट, जनसंवाद, बिहान मर्निङ वाक, दिउँसो कोणसभा, सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूसँग साना–ठूला अन्तरक्रिया आयोजना गरिनेछ।सुदूरपश्चिम प्रदेशवासीलाई अभियान सफल पार्न पोखरेलले सक्रिय सहभागिताको आग्रह गरेका छन्।
समापन समारोहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङलगायतका नेताहरूको उपस्थिति रहनेछ।


