एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १० : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषासँग आबद्ध ३३ जना पुस्तक व्यवसायीहरूले जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक गरेको पुस्तक सूची (बुक लिस्ट) कार्यान्वयन गर्न माग गरेका छन्।
बुधबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार लाखौं रुपैयाँ लगानी गरेर पुस्तकहरू खरिद गरी पसलमा भित्राइसकेको जानकारी दिएका छन्। यदि निर्णय कार्यान्वयन नभएमा आफ्नो लगानी डुब्ने भन्दै उनीहरूले नगर प्रमुख मनोज साहलाई उक्त निर्णयमा अडिग रहन आग्रह गरेका छन्।महासंघका सहसचिव बजरंग यादवले उपमहानगरपालिकाको निर्णयले नगरका विद्यालयहरूमा पाठ्यपुस्तकको एकरूपता ल्याउने भएकाले विद्यार्थी, अभिभावक र व्यवसायी सबैलाई सहज बनाएको बताए। साथै, निर्णयलाई यथास्थितिमा कार्यान्वयन गर्न आग्रह गर्दै उपमहानगरलाई धन्यवाद समेत दिएका छन्।उनका अनुसार मंगलबार नै अन्तिम बुक लिस्ट सार्वजनिक गरिने भनिए पनि बुधबारसम्म पनि सूची नआएकोले अभिभावक र व्यवसायीहरू अन्योलमा परेको स्थिति छ। उनले पुस्तक व्यवसायीको लगानी जोखिममा परिरहेको भन्दै उपमहानगरलाई शीघ्र र स्पष्ट निर्णय लिन अनुरोध गरे।व्यवसायीहरूका अनुसार उपमहानगरको निर्देशनअनुसार नै पुस्तक खरिद गरिएकोले अब अन्य विकल्पमा जानु सम्भव नरहेको र ढिलाइ भएमा लाखौं रुपैयाँको लगानी खेर जाने खतरा रहेको छ।


