एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १०
: काठमाडौँको माकलबारीमा १९ वर्षीय राहुल शाहको हत्या प्रकरणमा संलग्न दुई अभियुक्तलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि पीडित परिवारले कडा असन्तुष्टि जनाएका छन्।

सर्लाहीका ४५ वर्षीय उत्तम मण्डल र भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मालाई वैशाख ५ गते जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग नलगाउने निर्णय गरेको हो। यद्यपि प्रहरी अनुसन्धानले उनीहरूलाई हत्यामा संलग्न ठहर गरेपछि मुद्दा चलाउन सिफारिस गरिएको थियो।सरकारी वकिलको निर्णयविरुद्ध पीडित परिवारले बुधवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएको गुनासो गरेका छन्। मृतकका बुबा तथा आफन्तहरूले “हामीले न्याय पाएनौं” भन्दै न्यायिक प्रणालीप्रति आक्रोश व्यक्त गरे।प्रहरी अनुसन्धान अनुसार, सापटी लिएको रकम फिर्ता माग्दा राहुल शाहलाई काठमाडौँ गोकर्णेश्वरस्थित आरके मोटरसाइकल वर्कसपभित्र ६ जनाको समूहले हत्या गरेर वर्कसपमै गाडेको थियो।चैत १५ गते वर्कसपभित्र गाडिएको अवस्थामा शव उत्खनन गरिएको थियो। वर्कसपमा मोटरसाइकल मर्मतमा प्रयोग हुने उपकरणहरूको प्रयोग गरेर शव व्यवस्थापन गरिएको प्रहरीको भनाइ छ।यस प्रकरणमा पक्राउ परेकामध्ये २२ वर्षीय निपु मण्डल र १८ वर्षीय विजयकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। २३ वर्षीय जोधन मण्डललाई जिल्ला अदालत काठमाडौँले वैशाख ९ गते १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने १८ वर्षीय एक नाबालकलाई बाल सुधार गृहमा पठाइएको छ।

पीडित परिवारको आरोप छ कि ग्यारेज सञ्चालन गर्छु भन्दै पैसा लिएको निपु मण्डलले गम्छाले बेरि राहुलको हत्या गरेको हो। हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिएको निर्णयप्रति उनीहरूले पुनरावलोकनको माग गरेका छन्।