एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १० : सरकारले जुत्ता, चप्पल र औषधिजन्य वस्तुहरूमा सात दिनभित्र अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल राख्न निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई सो निर्देशन दिएको हो।
मंगलबार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल नेतृत्वको टोलीले यी दुई संघसँग छलफल गरेको थियो। छलफलमा सात दिनभित्र एमआरपी सहितको लेबल टाँस्न दुवै संघ सहमत भएका छन्।महानिर्देशक दाहालका अनुसार, विभागले यसअघि नै — गत चैतदेखि — यस्ता वस्तुहरूमा एमआरपी लेबल अनिवार्य गर्ने निर्देशन दिएको थियो। तर, जुत्ता चप्पल तथा औषधिजन्य वस्तुका उत्पादक र आयातकर्ताले उक्त निर्देशनको पालना नगरेको पाइएकोले पुनः छलफल गरी स्पष्ट समयसीमा तोकिएको हो।अब ९ वैशाखको मितिबाट एक साताभित्र एमआरपी सहितको लेबल नलगाएमा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।
नेपालको संविधानको धारा ४४ तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम, उत्पादक वा आयातकर्ताले उत्पादन वा आयात गरेका वस्तुहरूमा आम उपभोक्ताले बुझ्न सक्ने गरी नेपाली वा अंग्रेजी भाषामा अधिकतम खुद्रा मूल्य उल्लेख गरिएको लेबल अनिवार्य रूपमा राख्नुपर्ने कानुनी व्यवस्था छ।


