एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १० : गृहमन्त्री रमेश लेखकले भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि गरेका छन्।
इन्जिनियरिङ अध्ययनरत न्यौपाने बिदाको समयमा आमा, बुबा र दिदीसँग घुम्न गएका बेला सो हमलामा परी ज्यान गुमाएका हुन्। मंगलबार कश्मीरको चर्चित पर्यटकीय स्थल बैसारनमा भएको आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो।बैसारन पहलगामबाट करिब ६ किलोमिटर टाढा पर्ने सुन्दर स्थान हो, जसलाई ‘मिनी स्विटजरल्याण्ड’ पनि भनिन्छ। भारतीय मिडियाहरूका अनुसार, आतंककारीहरूले सो स्थानमा पुगेका पर्यटकलाई लक्षित गरी नाम सोधी–सोधी गोली हानेर हत्या गरेका थिए।दैनिक भाष्करको रिपोर्टअनुसार, मारिएका व्यक्तिहरूमध्ये नेपाल, संयुक्त अरब इमिरेट्स (UAE) का नागरिकहरूसहित भारतका गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिकसमेत छन्।
हमलामा केही पर्यटकहरू घाइते भएको जनाइएको छ। घटनाको अनुसन्धान भारतीय सुरक्षा निकायहरूले तीव्र रूपमा अगाडि बढाएका छन्।


