एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १० : पछिल्लो समय देशभर तापक्रममा उल्लेखनीय वृद्धि भएपछि मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर (हीट वेभ) चल्न सक्ने चेतावनी जारी गरेको छ। महाशाखाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार, विशेषगरी तराईका विभिन्न क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरिएको छ। “मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ,” उनले बताए, “अगामी दुई दिन तापक्रम अझै बढ्ने देखिएको छ, जसले तातो हावाको लहर निम्त्याउन सक्छ। सतर्कता आवश्यक छ।”तातो हावाको लहरका कारण मानवीय स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अनिवार्य रहेको मौसमविद्हarू बताउँछन्। प्रारम्भिक चरणमा शरीर चिलाउने, साना बिमिरा देखिने, घाउमा संक्रमण भएर खटिरा बन्ने समस्या हुन सक्छ। साथै, खुट्टा सुनिनु, रिँगटा लाग्नु, बेहोस हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिन सक्ने खतरा पनि छ।विशेषज्ञहरूका अनुसार, बाहिर काम गर्ने व्यक्तिहरूमा डिहाइड्रेसन (निर्जलीकरण) को जोखिम बढी हुन्छ। यस्तो अवस्थामा तिर्खा लाग्ने, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन्। वृद्धवृद्धा, बालबालिका र कमजोर व्यक्तिहरूमा अवस्था गम्भीर भएर कोमासम्म जान सक्ने सम्भावना रहन्छ।तातो हावा चलेका बेला शीतल र छायाँयुक्त स्थानमा बस्नु, प्रशस्त पानी पिउनु, घाममा नहिँड्नु, दिउँसोको समयमा बाहिरी काम नगर्नु लगायत सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। कसैमा लक्षण देखिएमा तातो स्थानबाट चिसो ठाउँमा सार्ने, मसाज गर्ने, जीवनजल खुवाउने, र खुट्टा चिसो ठाउँमा राख्दा राहत मिल्ने जनाइएको छ। लक्षण कम नभएमा तुरुन्तै चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्नेमा जानकारहरूले जोड दिएका छन्।





