एसपी रिपोर्टर
सिरहा , वैशाख ९
: सिरहाको भारतसँग सीमावर्ती क्षेत्रमा प्रहरीले अवैध हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्लाको ग्रामपंचायत पिपराही–२ निवासी २५ वर्षीय धर्मेन्द्र सिंह र २२ वर्षीय प्रिन्स सिंह रहेका छन्।सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित प्रहरी चेकपोस्टमा खटिएको टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली फेला पारेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र पासवानले जानकारी दिए।प्रहरीका अनुसार उनीहरू सवार रहेको नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल पनि बरामद गरिएको छ।

हाल दुवै जना सिरहा प्रहरीको हिरासतमा छन्। उनीहरूमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।