एसपी रिपोर्टर
काठमाणडौं , वैशाख ९
: भारतबाट भन्सार छली गरिएका सामान पर्सामा व्यापक रूपमा बरामद हुन थालेका छन्। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण, पर्साको सक्रियता बढेसँगै यस्तो कार्यमा कडाइ आएको हो।

गणपति राधेश्याम धिमालका अनुसार, सशस्त्र प्रहरीले विगत एक वर्षमा ४१ करोड ९२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध तथा शंकास्पद सामान बरामद गरेको छ। तीमध्ये २८ करोडभन्दा बढी मूल्यका सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएका छन् भने १३ करोड ८१ लाख रुपैयाँ बराबरका बिलबिजक नभएका सामान राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ।बरामद हुने सामग्रीमा लत्ताकपडा, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किराना सामान प्रमुख रहेका छन्। वीरगञ्ज भन्सार नाकामा तालिमप्राप्त कुकुरमार्फत पनि चेकजाँच जारी रहेको धिमालले जानकारी दिए।

सशस्त्र प्रहरीले पर्सा जिल्लाको १०७ किलोमिटर खुला सीमा क्षेत्रमा सुरक्षासहित चोरीपैठारी नियन्त्रण तथा सीमावासीसँग समन्वयात्मक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।