एसपी रिपोर्टर
सिरहा , वैशाख ९
: सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा अनियमितता र लापरवाही रहेको भन्दै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन्।

सोमबार अस्पताल परिसरमा भेला भएका उनीहरूले १९ बुँदे मागसहित अस्पताल प्रमुखलाई तीन दिनको ‘अल्टिमेटम’ दिएका छन्। उनीहरूले सेवा प्रवाह सुधार, चिकित्सकहरूको नियमित उपस्थिति, औषधि वितरण पारदर्शी बनाउने, फार्मेसीको मौज्दात विवरण सार्वजनिक गर्ने लगायतका माग गरेका छन्।सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले पटक–पटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले बेवास्ता गरेकाले विरोधमा उत्रनु परेको बताए। “मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका अध्यक्षको बेवास्ता तथा अस्पतालमा बढ्दो अनियमितताले सेवाग्राही हैरान छन्,” उनले भने, “अब माग सम्बोधन नभए सशक्त आन्दोलनमा जानेछौं।”मागपत्रमा पछिल्ला तीन आर्थिक वर्षमा अस्पतालले खरिद गरेका औषधि र वितरणको विवरण, म्याद सकिएका औषधिको अवस्था, प्रयोगशालाका सामान खरिदको हिसाब, आमा सुरक्षा कार्यक्रम तथा ओसिएमसीमार्फत सेवा लिएका बिरामी र खर्च विवरण सार्वजनिक गर्न माग गरिएको छ।त्यस्तै, अस्पतालमा कार्यरत सबै कर्मचारीको नामावली, नियुक्तिसम्बन्धी कागजात, तलबभत्ता नियमितता, ड्रेस कोड, सरसफाइ व्यवस्थापन तथा कर्मचारीको ड्युटी समयतालिका सूचना पाटीमा टाँस्नुपर्ने पनि उल्लेख छ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वैशाख ४ गते राति अस्पताल अनुगमन गरेपछि केही दिनमै स्थानीय युवाहरूले मागपत्र बुझाएका हुन्। युवाहरूले मुख्यमन्त्रीको अनुगमन सतही रहेको र सेवा तथा व्यवस्थापनमा सुधारको पहल नभएको गुनासो गरेका छन्।