एसपी रिपोर्टर
काठमाणडौं , वैशाख ९
: स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ६ हजार ९ सय रुपैयाँले वृद्धि भई एक तोलाको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ।

केही दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेको छ। सोमबार तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।सुनको मूल्य वृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको तीव्र वृद्धि हो। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको थियो, जुन मंगलबारको कारोबारको सुरुआतमा थप बढेर ३ हजार ४ सय ८० डलरसम्म पुगेको छ। गत साता तुलनामा यो करिब ५ प्रतिशतले वृद्धि हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) माथि हस्तक्षेपको आशय व्यक्त गरेपछि सुनको मूल्यमा तीव्र वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा भनेका छन्, “धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्। अहिले ब्याजदर घटाउन नसके अर्थतन्त्रमा मन्दी आउन सक्छ।” साथै, उनले फेड अध्यक्ष जेरोम पावेललाई ब्याजदर तत्काल घटाउन निर्देशनात्मक शैलीमा आग्रह गरेका थिए।शुक्रबार, शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले ट्रम्पको उक्त अभिव्यक्तिको प्रभाव सोमबार देखिएको हो। फेडको स्वतन्त्रतामा हस्तक्षेप गर्ने ट्रम्पको शैलीप्रति आलोचना बढेका छन्।

ट्रम्पको यस्तो अभिव्यक्तिपछि केन्द्रीय बैंकको नीति अस्थिर हुने आशंका गरिँदै लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्पका रूपमा सुनतर्फ आकर्षित भएका छन्। यसले सुनको मूल्यमा तीव्र वृद्धि गराएको छ भने अमेरिकी सेयर बजारमा उल्लेखनीय गिरावट आएको छ।