एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख ९
: सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते गरेको अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार साहले हालका वडाध्यक्ष सुरेशकुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप प्रयोग गरी चारकिल्ला सिफारिस तयार पारेको आरोपमा पक्राउ गरिएको हो।उनका अनुसार २०८० माघ १९ गतेको मितिमा तयार पारिएको उक्त सिफारिसमा किर्ते हस्ताक्षर र छाप प्रयोग भएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। यस सम्बन्धमा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साह वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाउँपालिका–२ का वडाध्यक्षमा निर्वाचित भएका थिए। पछि वि.सं. २०७९ मा उनी नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए।