एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख ८ : तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकास्पद आर्थिक कारोबारको आरोपमा अनुसन्धान सुरु गरेको छ।
सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङका अनुसार, राष्ट्र बैंकले प्रसाईंको खातामा अस्वाभाविक कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पत्राचार गरेपछि सीआईबीले आवश्यक प्रक्रिया अघि बढाएको हो।प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति पनि लिइसकेको सीआईबीले जनाएको छ। हाल उनी जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका छन्।
संगठित अपराध, राज्यविरुद्धको अभियोगमा अनुसन्धान
प्रसाईंमाथि राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध तथा ज्यान मार्ने उद्योगजस्ता अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याइएका प्रसाईंलाई सुरुमा १२ दिनको म्यादमा हिरासतमा राखी अनुसन्धान गरिएको थियो। अब म्याद सकिन तीन दिन बाँकी रहेकाले प्रहरीले पुनः म्याद थपको लागि अदालतमा पेश गर्ने तयारी गरेको छ।


