एसपी रिपोर्टर
सिरहा, वैशाख ८
: झन्डै पाँच महिनापछि सिरहा नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि उनले सोमबारदेखि कार्यभार सम्हालेका छन्।

यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवबाट गत माघमा आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो। त्यसपछि दैनिक प्रशासनिक कार्य प्रभावित भएको थियो।नयाँ अधिकृत राइनलाई नगर प्रमुख डा. नवीनकुमार यादवले चादर ओढाई, डायरी र कलम प्रदान गर्दै एक समारोहबीच स्वागत गरेका हुन्। कार्यक्रममा नगर प्रमुख यादवले अधिकृत राइनलाई जनताको हितमा काम गर्न निर्देशन दिँदै, नगरको समग्र विकासका लागि कर्मचारीहरूमाझ कुशल नेतृत्व प्रदान गर्न आग्रह गरे।प्रमुख प्रशासकीय अधिकृत राइनले पनि आफ्नो कार्यकालमा जनमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले नगरपालिकामा सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनका लागि सबै कर्मचारीको सकारात्मक सहयोग आवश्यक रहेको बताए।

प्रशासकीय अधिकृतको रिक्तताका कारण नगरपालिकाले चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा अवरोध खेप्नुपरेको थियो। साथै, सम्पन्न योजनाको भुक्तानी नहुँदा सेवाग्राहीहरू समस्यामा परेका थिए। सामाजिक सुरक्षा भत्ता, बालपोषण कार्यक्रम र कर्मचारी पारिश्रमिक वितरणसमेत प्रभावित भएको थियो।