एसपी रिपोर्टर
रौतहट, वैशाख ८
: नेपाल–भारत सीमावर्ती क्षेत्र रौतहटको मौलापुरमा प्रहरीले साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर नगरपालिका–६ स्थित पथराबुधराम सडक खण्डमा चेकजाँचको क्रममा २३ वर्षीय भारतीय नागरिक राज किशोर ठाकुरलाई उक्त रकमसहित पक्राउ गरेको हो। ठाकुर भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको कुंडवा चैनपुर ग्राम पंचायतका बासिन्दा हुन्।उनले चलाएको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकलको सिटमुनी लुकाइराखिएको अवस्थामा भारतीय रुपैयाँ ५०० दरका ६ सय थान र नेपाली रुपैयाँ १,००० दरका ३५८ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। कुल रकम ६ लाख ५८ हजार रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ।

ठाकुरले बरामद नगदको स्रोत र उद्देश्यबारे स्पष्ट विवरण दिन नसकेको भन्दै उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा रकम अवैध रूपमा नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ।