एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ७ : सिरहाको नवराजपुर गाउँपालिका–३ की २४ वर्षीया आनन्दी देवी सदाय पाँच दिनअघि आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। यसअघि, गत पुस ९ मा उनीमाथि गाउँकै सञ्जीवकुमार यादव र श्यामसुन्दर यादवले सामूहिक बलात्कार प्रयास गरेका थिए। मुद्दा दर्ता भए पनि दुवै आरोपित भारत फरार रहेको भन्दै प्रहरीले पक्राउ गर्न नसकेको जनाएको छ।
पीडित परिवारले घटनाको सुरुमा नै जाहेरी दिए पनि प्रहरी र स्थानीय नेताहरूले मिलापत्रको दबाब दिएको र आर्थिक लेनदेनमा घटना मिलाउन खोजिएको आरोप लगाएका छन्। पहिलो पटक माघ ४ मा जाहेरी दर्ता गरी भोलिपल्ट बदर गरिएको थियो। दोस्रो पटक फागुन २५ मा मात्र पुनः जाहेरी दर्ता भएको थियो।अनुसन्धान सुस्त हुँदा मानसिक तनावमा रहेकी आनन्दी वैशाख २ गते मृत फेला परेकी हुन्। मृतककी आमाले आफूहरू कमजोर भएकाले कानुनी कारबाहीमा जान डराएको बताएकी छन्। यता, दलित अगुवाहरूले आत्महत्या दुरुत्साहन र मिलापत्रमा संलग्नहरूमाथि कारबाही गर्न माग गरेका छन्।


