एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ७ : श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले आउँदो वैशाख २३ गते मनाइने जानकी जन्मोत्सवको अवसरमा राष्ट्रिय विदा तथा पर्वको घोषणा गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय, धनुषामा ज्ञापनपत्र बुझाएको छ।
संघका अध्यक्ष राम रोशन दास वैष्णवको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा जनकनन्दिनी जानकीको जन्मभूमि जनकपुरधामको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटन महत्वलाई स्मरण गराउँदै सो दिनलाई राष्ट्रिय विदाको मान्यता दिनु आवश्यक भएको उल्लेख छ।ज्ञापनपत्रमा भनिएको छ, “जानकी माता केवल मिथिलाको गौरव मात्र नभई सम्पूर्ण हिन्दू सभ्यताकी केन्द्रीय श्रद्धास्थान हुनुहुन्छ।
उहाँको जीवनले नारी शक्तिको आत्मबल, धैर्य र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्छ।”संघका अनुसार जानकी नवमीको दिन लाखौं श्रद्धालु जनकपुरधाममा आगमन गर्ने भएकाले सो दिन सार्वजनिक विदा दिनु धार्मिक, सामाजिक, आर्थिक तथा पर्यटन दृष्टिकोणले समेत उचित हुने दाबी गरिएको छ।संघले उक्त मागपत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय तथा जनकपुर उपमहानगरपालिका समेतमा पठाइएको जानकारी दिएको छ।

संघले यो निर्णयलाई “मातृशक्तिप्रति राष्ट्रको सम्मान” को ऐतिहासिक कदम हुने भन्दै नेपाल सरकारलाई जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्न पुनः आग्रह गरेको छ।


